लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेले शनिबार लण्डनमा एक च्यारिटी डिनर सम्पन्न गरेको छ ।
जुम्लाको एक अति विकट गाउंमा बर्थिंङ सेन्टर (मातृशिशु केन्द्र ) स्थापनाको लागि कोष जुटाउने उद्धेश्यले ह्यारो फुटबल क्लबमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमबाट १२ लाख रुपिया भन्दा बढिको कोष संकलन भएको छ । जसमध्ये ६ हजार २ सय ८७ पाउण्ड संकलन भइसकेको छ भने २ हजार ८ सय ४६ पाउण्डको सहयोगका लागि प्रतिबद्धता आइसकेको छ । बर्थिंङ सेन्टरको बजेट ४० हजार पाउण्ड छ ।
कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबाहदुर सुवेदीले नेप्लिज नर्सिङ एशोसिएसन यूकेले सञ्चालन गरेका मानवीय कार्यहरुको प्रशंसा गरे ।
कार्यक्रममा नेप्लिज डक्टर्स एशोसिएसन यूके अध्यक्ष डा सविन जोशी, अल पाकिस्तान नर्सेस एशोसिएसन अध्यक्ष जिवा आरिफ , एनआरएन युरोप संयोजक कुल आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रेन्ट काउन्सिलका मेयर भगवानजी चौहान , बेलायतस्थित नेपाली व्यवसायी, समाजका अगुवा, सञ्चारकर्मी तथा डाक्टर, नर्स लगायतको पेशामा आबद्ध स्वास्थ्यकर्मीहरुको पनि उपस्थिति थियो ।
एशोसिएसनकी महासचिव रस्मिता दर्लामीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विनोदविकास सिंखडाले जुम्लाको बर्थिंग सेन्टर प्रोजेक्टबारे एक प्रिजेन्टेसन प्रस्तुत गरे । कोषाध्यक्ष गंगा साम्पांग र सहकोषाध्यक्ष घलेले प्रोजेक्टका लागि संकलित कोषबारे जानकारी गराए ।
कार्यक्रममा एशोसिएसनका आजिवन सदस्य तथा कार्यक्रमका स्पोन्सरहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसक्रममा एक नाटक मञ्चन गरिएको थियो भने दिपक थापा र प्रतिभा शाहीले गीत तथा विभिया श्रेष्ठ, बिनु लामिछाने, प्रिमा भट्टराई, प्रतिष्ठा त्रिपाठी, श्रेया सुस्मिता लगायतले नृत्य र रफी श्रेष्ठले बांसुरीको धुन प्रस्तुत गरेका थिए ।
सांस्कृतिक कार्यक्रमको सञ्चालन सुनिता गौतमले गरेकी थिईन् ।
कार्यक्रममा कोष जुटाउनको लागि विभिन्न सामग्रीको लिलाम बढाबढ तथा राफल ड्र पनि गरिएको थियो ।












