काठमाडौँ, ६ भदौ । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ ।
व्यवस्थापिका– संसद्को आजको बैठकमा विशेष समय लिएर उहाँले सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे सदनमार्फत नेपाली जनतालाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
“मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ , जसबाट १४९ को ज्यान गइसकेकोछ, १० हजारको संख्यामा बेघरबार छन्, ठूलो संख्यामा जनता समस्या छन्, त्यसमध्ये डुबानको समस्या अझै विकराल छ, डुबान समस्या कसरी पैदा भएको हो, अब कसरी समाधान गर्ने हो, त्यस सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्छ”, उहाँले भन्नुभयो ।
नेता ओलीले अन्तर्राष्ट्रिय कानून विपरीत नेपाललाई पनि थाहा नै नदिएर बाँध बनाइएको छ भन्दै त्यसबारे सरकारको धारणा के छ भन्नेबारे नेपाली जनता सुन्न चाहन्छन् भन्दै बाँधका सम्बन्धमा गम्भीर रुपमा भारतसँग कुरा गर्नुपर्नेमा जोड दिनुभयो ।






