काठमाडौँ, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसदमा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी ह्विप जारी गरिएकामा अनुपस्थित रहेका सांसदबारे जानकारी दिनुभएको थियो ।
पार्टी विभाजनको प्रयत्न गरेका नेता पशुपतिशम्शेर जबरा समूहको दललाई कानुनी मान्यता दिन सोमबार सर्वोच्च अदालतले गरेको निर्णयका सम्बन्धमा पार्टीले कानून व्यवसायीसँग परामर्श गरी उपचारका लागि अदालतमा जाने निर्णय गरेको छ । काठमाडौँमा चाँडै काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय पनि भएको छ ।






