काठमाडौं- संविधान संशोधनको प्रस्तावलाई व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने सर्वदलीय सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएलगत्तै संशोधन प्रस्ताव संसदमा प्रस्तुत भएको छ ।
बैठकमा नेकपा एमालेले सदनमा संशोधन प्रस्ताव प्रस्तुत गर्दा कुनै बाधा अवरोध नगर्ने सहमति गरेको थियो । बैठकमा सहभागी नेताहरू दिएको जानकारीअनुसार एमालेले प्रस्तावको पक्ष वा विपक्ष कहाँ मत दिने भने यकिन गरेको छैन ।
बैठकमा प्रधानमन्त्री देउवाले बाढीपीडितको उद्धार र राहत, संविधान संशोधनका साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा दलहरूको रायसुझाव माग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा काँग्रेस, एमाले र माआवादी (केन्द्र) एकै चरणमा चुनाव गर्न सहमत भएका थिए ।
सहमतिअनुसार आगामी मङ्सिरभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगसँग परामर्श, आवश्यक ऐनकानुनका निर्माण गरिनेछ । बैठकमा बाढीपीडितको राहत र उद्धारको विषयलाई लिएर सबैभन्दा धेरै छलफल भएको थियो । राहत र उद्धारको कार्यलाई तीव्रता दिन सरकारलाई नेताहरूले सुझाव दिएका थिए ।
बैठकमा सहभागी अधिकांश राजनीतिक दलका नेताले संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने र असोज २ मा हुने प्रदेश २ को स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सुनिश्चितता गरिनुपर्ने जोड दिनुभएको थियो । प्रधानमन्त्रीको पहलमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेतासित अलग्गै बैठकसमेत बसेको थियो ।
सर्वदलीय बैठकपछि राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउन आफूहरू सकारात्मक रहेको बताए। उनले संविधान संशोधनपछि निर्वाचनको वातावरण बन्ने बताउँदै राजपा नेपालले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसित माग गरेको जनाकारी दिए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा आफूले अहिलेको व्यवस्थापिका संसद् कामचलाउ रहेको र कामचलाउ संसद्ले संविधान संशोधन गर्न नसक्ने सुझाव दिएको बताउनुभयो । केन्द्रीय निर्वाचनपछि बन्ने संसद्ले मात्र संविधान संशोधन गर्न सक्ने उहाँको सुझाव थियो ।
तीन दलको बैठकमा प्रधानमन्त्री देउवा माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरू सहभागी थिए। तीन दलको बैठकपछि सर्वदलीय बैठक भएको थियो । सर्वदलीय बैठकमा प्रमुख तीन दलका साथै राजपा नेपाल, राष्ट्रिय जनमोर्चा लगायत दलको सहभागिता थियो ।






