एमाले र माओवादी केन्द्रबीच झडप : एकको मृत्यु, एक गम्भिर

दोलखा– दोलखामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट वाइसिएलका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार मृत्यु हुनेमा एमाले कार्यकर्ता कुलबहादुर तामाङ रहेका छन् । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।

झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।

दोलखाको गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा रहेको निलकण्ठेश्वर माविमा गत राती साढे ९ बजेतिर झडप भएको थियो ।

दोहोरो झडपमा परी नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् । चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री एवम् माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्कालगायतको टोलीलाई ढुङ्गामुढासहित आक्रमण गरिएपछि दोहोरो झडप भएको थियो ।

झडपका क्रममा २ वटा मोटरसाइकलमा पनि आगजनी गरिएको छ ।

जुँगुमा केही दिनयता ‘टाइगर गुरुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्तालाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगायतका गतिविधि बढेपछि सो समूहसँग आबद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो ।

त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो । मृतक तामाङ टाइगर गुरुपसँग आबद्ध भएको बताइएको छ । यद्यपि नेकपा (एमाले) दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।