डा. गोविन्द केसीको अनशन २३ औं दिन स्थगित

काठमाडौं- गुणस्तरीय चिकित्सा सेवा र शिक्षाका अभियन्ता डा. गोविन्द केसीले आफ्नो ११ औं अनशन २३ औं दिन मंगलबार स्थगन गरेका छन् ।

मुलुकमा आइपरेको बाढीको विपत्तितिर सबैको ध्यान केन्द्रित हुनुपर्ने भन्दै उनले यसमा आफ्नो अनशनले बाधा नपरोस् भनी सत्याग्रह हाललाई स्थगन गरेको बताएका छन् । बाढीपीडितको जनजीवन सामान्य भएपछि आफ्नो संघर्ष पुन: जारी राख्ने उनले प्रतिबद्धता जनाए । ‘दैवी विपत्तिबाट पीडितको उद्धारमा थप जटिलता आउन नदिन अनशन स्थगन गरेको हुँ,’ डा. केसीले सरकारलाई चेतावनी दिँदै भने, ‘तर यसलाई कमजोरी नठानियोस् ।’

त्रिवि शिक्षण अस्पताल हातामा अनशन स्थगनको घोषणा गरेलगत्तै जटिल स्वास्थ्य स्थितिका कारण उनलाई उपचारका लागि आईसीयूमा लगिएको छ । यसअघि उनले मधेस आन्दोलन र नाकाबन्दीका बेला सातौं र दसैंका बेला परेर नवौं अनशन पनि बीचमै स्थगन गरेका थिए ।

११ औं अनशनका क्रममा डा. केसीले माथेमा प्रतिवेदनअनुरूप चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नु पर्ने मागलाई पहिलो नम्बरमा राखेका थिए ।

निजी मेडिकल कलेज किन्न कार्यदल गठन

यसैबीच सरकारले चिकित्साशास्त्र अध्यापनका लागि आशयपत्र पाएका संस्थालाई आफ्नो स्वामित्वमा लिन चाहेमा वा लिन सक्ने सम्भावना देखिएमा त्यसबारे नीतिगत, कानुनी र प्रक्रियागत अध्ययन गरी सुझाव दिन एक कार्यदल गठन गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त कार्यदल गठन गरेको हो । मुख्य सचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, शिक्षा, स्वास्थ्य र सार्वजनिक खरिद कार्यालयका सचिव सदस्य रहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । कार्यदलले आवश्यकताअनुसार विज्ञहरूको राय लिन सक्नेछ ।