अविरल वर्षाले रौतहटको जनजीवन अस्तव्यस्त, महेन्द्र राजमार्ग बिहानैदेखि अवरुद्ध

रौतहट– अविरल बर्षाको कारण रौतहटको जनजीवन अस्तब्यस्त भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गका साथै जिल्लाका अधिकांश ग्रामिण सडकहरु समेत अवरुद्ध भएको छ ।
पछिलो ४० घन्टा भन्दा बढी समयदेखि परेको बर्षाले महेन्द्र राजमार्ग अन्तरगत चन्द्रपुरको जुडिबेला छेउ लचकामा पानी बढेकाले आज बिहान छौ बजेदेखि सम्पुर्ण यातायात अवरुद्ध भएको हो ।

लचका छेउमा बिहानै फँसेको दुईवटा गाडीलाई प्रहरीले निकालेको छ ।
बंकुल कोपवा बीचको नहरको पुल, देवाहीबाट सोनरनिया हुँदै हरनहिया जाने बाटो र त्यहाँ रहेको पुल बाढीले बगाएको छ ।
बाटो र पुल बगाए पछी देवाहीबाट मौलापुर, बंकुलबाट कोपवा,तथा मौलापुरबाट बारातर्फ जाने सडक आज अवरुद्ध भएको छ ।
बर्षाको पानी सडक सतहदेखि माथी सम्म बगिरहेकाले जिल्लाको पुर्वीभेग समनपुर,मत्सरी,मध्यभाग कटहरिया तथा पश्चिमीभेग बिजयपुर, बंकुल, दुअिवा, बडहरवालगायतका क्षेत्रमा पनि यातायात सञ्चालन हुन सकेको छैन ।

पानीको तीब्र बहावले गरुडाछेउ झाँझपुल नजिकै दुईवटा बिद्युतको पोल ढलेपछि दक्षिणीभेगमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
बर्षाको पानीले पुर्वीभेग मत्सरी,सरुअठा,मलहिनिया,समनपुर, पश्चिमीभेग देवाही, करुनिया, जिंगडवा, मर्यादपुर, ईनरवा, मटिअर्वा, कटहरिया, कर्कचकर्मैया, भसेढवा, बडका बडेरवा, फतुआ, हर्षाहा, लक्षमिनिया, सितलपुर, बरगिनियतलगायत चारदर्जन बढी गाँउ डुबानमा परेको छ ।

गरुडा नपा चार मलहिनिया लगायतका गाँउको चारैतर्फ पानी जमेकाले टापु सरह बनेको छ ।
डुबानमा रहेका अधिकांस घरहरुमा पानी पसेकाले घर परिवारका मानिस हिजो राती देखी खाना समेत खान नसकेको भसेढवाका स्थानिय राजु उपाध्यायले बताएका छन ।
सिडिओ उद्धव बहादुर थापाले अविरल बर्षापछि उत्पन्न बिपतपछिको राहत र उद्दारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा नेपाली सेनाका टोली युद्धस्तरमा खटीरहेको बताए ।