काठमाडौं , १९ माघ । विपक्षी एमाओवादी नेतृत्वको मोर्चा र राप्रपा नेपालको समेत अवरोधको धम्की आइरहेका बेला संविधानसभाको बैठक माघ २२ गते बस्ने भएको छ ।
माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठनसँगै स्थगित भएको बैठक माघ २२ गते विहीवार अपरान्ह १ बजे बस्ने भएको हो ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सोमवार आगामी बैठकको मिति तोकेको संविधानसभा सचिवालयले जनाएको छ ।
प्रश्नावली प्रस्ताव समितिले गठन गरेको प्रश्नावली मस्यौदा समितिले मंगलवार अपरान्हसम्म प्रश्नावली बनाएर पेश गर्नेछ ।
प्रश्नावली समितिलाई संविधानसभाले दिएको म्याद आउँदो २१ गते सकिँदै छ । त्यसको भोलीपल्टै संविधानसभाको बैठक बोलाइएको हो ।
‘समितिले कस्तो प्रतिवेदन पेश गर्छ, त्यसै अनुसार अघि बढ्ने नबढ्ने निश्चित हुन्छ,’ संविधानसभा सचिवालयका सह प्रवक्ता सुदर्शन कुईंकेलले अनलाइनखबरसँग भने, ‘ थप समय आवश्यक परे त्यही अनुसार निर्णय हुन्छ ।’
प्रश्नावली प्रस्ताव समितिलाई अस्वीकार गरेका एमाओवादी र मधेशी मोर्चाले सो समिति खारेजीको माग गरिरहेका छन् ।
संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा प्रश्नावली बनाउन नमिल्ने भनेपछि राप्रपा नेपालले समेत समिति बहिस्कार गर्दै कडा प्रतिरोधको चेतावनी दिइसकेको छ ।
विपक्षमा रहेका सबै सबै दलहरुको अवरोधका बीच संविधानसभाको बैठक बस्न लागेको हो । यसबीचमा दलहरुले सहमति गरे प्रश्नावली समितिको काम सहमतिमै हुने सभाध्यक्ष नेम्वाङले बताएका छन् ।






