काठमाडौँ, ४ साउन । “एउटा कुराको सधैँ हेक्का राख्नुहोस् कि तपाईंहरुले कार्यान्वयन गर्ने कार्यक्रम र खर्च गर्ने रकमबाट नै देशको आर्थिक वृद्धि माथि जान्छ र देशले खोजेको आर्थिक समुन्नतिको मार्गमा अघि बढ्न सकिन्छ ।”
प्रायः राजनीतिक अभिव्यक्ति दिइरहने मन्त्रीहरुको परम्परा तोड्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आज गम्भीर मुद्रामा त्यसो भन्दै प्रस्तुत हुनुभयो – नेपाल सरकारका सबै मन्त्रालयका सचिव, अन्य निकायका प्रमुख कार्यकारी अधिकृत र विभागीय प्रमुखहरु माझ ।
सन्दर्भ थियो चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरेर विकासको प्रतिफल गाउँमा रहेका गरीब, निमुखा र सिमान्तकृत जनतासमक्ष पु¥याउन राष्ट्रसेवक कर्मचारीलाई जागरुक तुल्याउने ।
मुलुकको राजधानी महानगरमा ढलमा बगेर एक बालिकाको ज्यान गएको लज्जापूर्ण घटनालाई घुमाउरो ढंगले प्रस्तुत गर्दै भावुक बन्नुभएका अर्थमन्त्री कार्की निर्माणका काममा समन्वयहीनता, ढिलासुस्ती, जवाफदेहीविहीनता र जिम्मेवारीबाट विचलित हुने प्रवृत्तिको अन्त्यका निम्ति स्थायी सरकारका प्रमुखहरुलाई घच्घच्याउँदै हुनुहुन्थ्यो ।
निर्माणको गुणस्तर सुनिश्चिततामा कसैसँग मोलमोलाहिजा नगर्ने उहाँका चेतावनीपूर्ण अभिव्यक्ति कूटनीतिक शैलीको थियो ।






