एनआरएन युकेको अध्यक्षमा आईसीसी सदस्य कृष्ण तिमल्सिेनाको उम्मेदवारी घोषणा [भिडियोसहित])

 

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्वर २०१७ मा हुन गइरहेको ७ औं महाधिवेशनमा वर्तमान आईसीसी सदस्य कृष्ण तिमल्सिेनाले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् ।20196711_1876645332656178_882178003_o

धेरैको अड्कलबाजी अन्त्य गर्दै उनले बुधबार विभिन्न सञ्चारमाध्यममार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् । तिमल्सेनाको घोषणासंगै अब एनआरएनए यूकेको चुनावी मैदानमा अध्यक्षका दावेदार तीन जना पुगेका छन् ।

हिराधन राईले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने योगकुमार फगामीले यही आइतबार औपचारिक घोषणा गर्ने कार्यक्रम छ । हाल यूकेबाट एनआरएनएमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य (आइसीसी मेम्बर) रहेका तिमल्सेना एनआरएनए यूकेमा सदस्य हुंदै उपाध्यक्ष भइसकेका छन् ।

उम्मेदवारी घोषणापछि लन्डन नेपाल न्यूज डट कमसँग कुरा गर्दै तिमल्सेनाले आफू संस्थामा योगदान दिन उम्मेदवार भएको बताए । ‘अघिल्लो कार्यकालमा पनि मैले सहकार्यका लागि उम्मेदवारी घोषणा फिर्ता लिएको थिएँ,’ उनले भने, ‘यसपालि म अन्य साथीहरुसँग सहकार्यको अपेक्षा गर्दछु ।’ तिमल्सेनाले एनआरएन यूकेलाई योग्य व्यक्तिको खाँचो रहेको बताउँदै आफूलाई भरोसाको लौरो बनाइदिन अनुरोध गरेका छन् । उनले भने, ‘मलाई योग्य र लायक सम्झन्छु हुन्छ भने मलाई, अरुयोग्य छन् भने अरुलाई मत दिनुहोला ।’

नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष रहेका तिमल्सेनाले आफ्नो उम्मेदवारी एनआरएन धनीहरुको मात्र क्लब भयो भन्ने जन गुनासो र भ्रम चिर्न केन्द्रित भएको बताए । आफू ग्रासरुटबाट आएको उल्लेख गर्दै सबै मतदातालाई सदस्य बनेर चुनावी अभियानमा सहभागी हुन अपिल गरेका छन् । विगत १७ वर्षदेखि बेलायतमा बस्दै आएका तिमल्सिेना बेलायत र नेपालमा पनि सहयोगी व्यक्तिकोरुपमा चिनिएका छन् ।

संघमा विगत ९ वर्षदेखि उनको नेतृत्वदायी भूमिका छ ।