काठमाडौं– निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत उम्मेदवारी दर्ताका क्रममा देशका विभिन्न स्थानमा भएका घटनाप्रति गम्भिर चासो प्रकट गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा दलहरुलाई संयमता अपनाउन निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले बाजुराको छेडेदह तथा कपिलबस्तुको वाडगंगामा उम्मेदवारी दर्ताका क्रममा भएका झडपका घटनाप्रति आयोगले दुख प्रकट गर्दै त्यस्ता घटना दोहोरिन नदिन सरोकारवालको ध्यानाकर्षण गराएको हो ।
उम्मेदवारी दर्ता गर्ने दिन बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा मनोनयन पत्र दर्ता गर्न जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा ५० बर्षिय हंसबहादुर राउतको मृत्यु भएको थियो ।
घटनामा दुवै पक्षका केही कार्यकर्ता घाइते समेत भएका थिए । यसैगरी, उम्मेदवारी दर्ताकै क्रममा असार ४ गते कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिका वडा नं. ४ भित्री हुलाकी सडक खण्डमा बम विष्फोट भएको घटनाप्रति पनि आयोगले चासो प्रकट गरेको छ । बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए ।
संयमता अपनाउन आग्रह
निर्वाचन आयोगको सोमबारको बैठकले दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । बैठकपछि आयोगका प्रवक्ता सुर्यप्रसाल शर्माले संयमता अपनाउदै सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुसँग अपिल गरेको बताए ।
प्रभावकारी सुरक्षा मिलाऊ
यस्तै आयोगले आगामी असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न
असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई पुन ध्यानाकर्षण गराएको छ ।






