परासी- नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् ।
जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् ।
पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । जसमा गिरिपिन्सले चार गोल गरेको थियो भने टस्करले आठ गोल गरेको थियो ।
दोस्रो खेल थारु टाइगर्स नेपाल र गोल ओए श्रीलङ्काबीच भएको थियो जसमा थारु टाइगर्सले दुई र ओए श्रीलङ्काले आठ गोल गरेको थियो । तेस्रो खेलमा इएचफजी स्विट्जरल्याड र पुक्का चुक्कास अस्टे«लियाबीच भएको थियो त्यसमा स्विट्जरल्यान्डले नौ र अस्टे«लियाले पाँच गोल गरेको थियो । चौथो खेलमा दि ट्रिग्रिसिप अरेवियाले पाँच र दि रस्टी कुर्किस युकेले सात गोल गरेका थिए ।
टाइगर टप्स होटलको आयोजनामा बर्सेनि हुने प्रतियोगिता यस वर्ष नवलपरासीको कावासोती– १५ अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी छ ।
यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् ।






