प्रधानमन्त्रीको फोनमा प्रचण्डले भने गल्ति नसच्याएसम्म बार्ता हुँदैन

काठमाडौं, १४ माघ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समितिको गठन गरेसँगै सत्तारुढ र विपक्षी दलबीच दूरी बढिरहेको बेला प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच टेलिवार्ता भएको छ ।
बुधबार साँझ भएको फोनवार्तामा प्रधानमन्त्री कोइरालाले वार्तामा आउनको लागि प्रचण्डलाई आग्रह गरेको प्रचण्डको भनाई उद्धृत गर्दै स्वकिय सचिव चूडामणि खड्काले रातोपाटीलाई जानकारी दिए । Prachanda-sushil
सो क्रममा कोइरालाले  सभाध्यक्षले समितिको गठन गरेपनि सत्ताधारी दलको प्राथमिकता सहमति नै रहको भन्दै शंका नगर्न आग्रह गरेका थिए । तर, प्रचण्डले भने गल्ती नसच्चिएसम्म वार्तामा बस्नुको औचित्य नै रहने भन्दै त्यसपछि भने आफूहरुले वार्ताबारे सोच्न सक्ने जवाफ दिएका थिए । ‘समिति गठनप्रति हाम्रो गम्भीर आपत्ती छ, सत्ताधारीको जुन किसिमको पेल्याई भएको छ, त्यो नसच्चिएसम्म वार्ता बस्ने कुरै आउँदैन ।’ प्रचण्डले कोइरालालाई भने ।
उनले सत्तारुढ दलले नै वार्ताको ढोका बन्द गराउने काम गरेको आरोप लगाउँदै अव ढोका खुल्ला गराउने काम पनि उसकै रहने समेत बताएका थिए ।
प्रचण्डको धारणा सुनिसकेपछि कोइरालाले आफूले यसबारे छलफल गर्ने र सहमतिको विकल्प नभएकाले दुबै पक्ष लचक बन्नुपर्ने भन्दै त्यसका लागि व्यक्तिगत रुपमा आफू तयार रहेको बताएका थिए ।