क्रिकेटर शक्ति गौचन पितृशोकमा

काठमाडौं । जतिबेला शक्ति गौचन डिभिजन टू क्रिकेटमा नेपाललाई जिताउन नामिबियाको मैदानमा डटिरहेका थिए, उनका बुबा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा कोमामा थिए ।

भैरहवामा भएको माइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका शक्तिका बुबा खड्गप्रसाद गौचनको मस्तिष्कमा गहिरो चोट लगेको थियो । मस्तिष्कको शल्यक्रिया गरियो । तर, उनलाई बचाउन सकिएन । बुधबार बिहान करिव ४ बजे उनको निधन भयो । खड्गप्रसादको थकाली परम्पराअनुसार बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

शक्ति उनका एक्लो छोरा हुन् । ‘बुबा कोमामा रहँदा पनि उनले कत्ति पनि बिचलित नभई देशका लागि खेले’ पशुपतिमा भेटिएका एक आफन्तले भने-‘छोराको अनुहार हेर्न कुरोको जस्तो भयो ।’

डिभिजन टू खेलेर नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो । शक्ति विमास्थलबाट बिरामी बुबालाई भेट्छु भन्दै सिधै अस्पताल पुगेका थिए ।

शोकमा शक्तिलाई साथ

खड्गप्रसादप्रति श्रद्धाञ्जली दिन नेपाली क्रिकेट टीमका अधिकांश खेलाडी आर्यघाट पुगेका थिए । उनी निकै भावुक देखिन्थे । प्रशिक्षक पुबुदु दशानायके, सहायक प्रशिक्षक विनोद दासलगायत नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरु पनि श्रद्धाञ्जली दिन पुगेका थिए ।