बैठक चलिरहँदा प्रधानमन्त्रीको फोन, राजपाले एक दिन पर्खने

काठमाडौँ– नयाँ चरणको आन्दोलनको घोषणा गर्ने तयारी गर्न बसेको राष्ट्रिय जनता पार्टी नेपालको बैठकले आफ्ना मागहरु पूरा गर्न सहमति जुटाउन सरकारलाई थप एक दिन समय दिने निर्णय गरेको छ ।

बैठकका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजपाका नेताहरुलाई फोन गरेर सहमति जुटाउन थप एक दिन समय माग गरेपछि राजपाको बैठकले आन्दोलनको घोषणा गर्ने कार्यक्रम स्थगित गरेको हो ।

यसअघि आज बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निष्कर्श सुनाउँदै त्यस विषयमा राजपाको धारणा माग गरेका थिए ।

सोमबार प्रधामन्त्री निवास बालुवाटरमा बसेको संक्षिप्त बैठकमा प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचत अघि संविधान संशोधन गर्न कठिन रहेको र स्थानीय तहको संख्या थप्ने विषयमा पनि एमालेले सहयोग नगर्ने कुरा सुनाएका थिए ।

निर्वाचनअघि संविधान संशोधनको सम्भावना यसअघि नै टरिसकेको अवस्थामा सरकारले मधेसी दललाई निर्वाचनमा सहभागी गराउन मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या थप्ने बताउँदै आएको थियो ।

यसका लागि उपप्रधानमन्त्री विजय गच्छदारको नेतृत्वमा समिति समेत गठन गरिएको थियो ।

तर, आजको बैठकमा भने प्रधानमन्त्रीले एमालेले त्यसमा पनि प्रमुख प्रतिपक्षी दलले असहयोग गर्ने बताएको कुरा सुनाउँदै त्यसमा राजपाका नेताहरुको धारणा माग गरेका थिए ।

आफ्ना माग पूरा नहुने देखेपछि राजपाका नेताहरुले आन्दोलनका कार्यक्रमको घोषणा गर्ने तयारीसहित विजुलीवजारमा बैठक बसेको थियो । तर, प्रधानमन्त्रीले बैठक चलिरहेको बेला फोन गर्दै मोर्चालाई आन्दोलनको कार्यक्रमण घोषणा नगर्न र आफूलाई सहमतिका लागि एक दिनको समय थप दिन आग्रह गरेका थिए ।

राजपाका नेताका अनुसार प्रधानमन्त्रीले मोर्चाको माग सम्बोधन गर्न आज मन्त्रिपरिषदको बैठकबाट केही निर्णय गर्ने र भोलि बिहान प्रमुख प्रतिपक्षी दलसँग बसेर सहमतिको प्रयास गर्ने बताएका थिए ।

राजपाको बैठकपछि अहिले संघीय गठबन्धनको बैठक बसिरहेको छ ।