काठमाडौ– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुलेटको जवाफ ब्यालेट दिने चेतावनी दिएका छन् ।
मधेश आन्दोलनको समयमा राज्यले मधेशीलाई गोली हानेर हत्या गरेको भन्दै अध्यक्ष यादवले त्यसको जवाफ ब्यालेटबाट दिने बताए ।
आज राजधानीमा संघीय लिम्बुवान पार्टी नेपालसँग एकीकरण घोषणा गर्दै उनले मधेशमा जाँदा धेरैले आफूलाई चुनावमा किन गएको भनि प्रश्न गरेको बताउँदै भने, ‘त्यसको जवाफमा अब यो राज्यलाई ब्यालेटबाट जवाफ दिने बेला आएको छ, चुनावमार्फत शक्ति निर्माण गरि राज्यमाथि धावा बोल्छौं ।’
चुनाव पनि एउटा आन्दोलन हो, चुनावलाई पनि एउटा संघर्षको रुपमा अगाडि बढाउन सकिन्छ भन्दै अध्यक्ष यादवले आन्दोलनको आधारभूमि तयार गर्ने माध्यम चुनाव रहेको बताए ।
‘लोकतन्त्रमा चुनावलाई इन्कार गर्न सकिदैन, राज्यसँग लड्नु नै हो, आदिवासी जनजाति, मधेशीसँग भेदभाव गरेको राज्यसँग चुनावमा भाग लिएर पनि लड्न सकिन्छ’, उनले भने ।
तीन दलले ल्याएको सविधान नश्लीय र विभेदकारी रहेको भन्दै उनले त्यसलाई पुर्नलेखन गर्नुपर्छ भनि पहिलादेखि नै आफूले भन्दै आएको र त्यसबाट आफू पछि नहटेको स्पष्ट पारे ।
सरकारले ल्याएको सविधान संशोधनले केही पनि समस्या समाधान नहुने बताउँदै उनले सरकारले तत्काललाई यो विधेयक पारित गरे बाँकीका लागि पुनः संघर्ष गर्ने बताए ।






