काठमाडौं– मंगलबार देशभर पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । दलहरूले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसकेका छन् भने बाँकी पनि मंगलबार बिहानसम्म टुंग्याइसक्ने अन्तिम कसरतमा छन् । मनोनयन दर्तासँगै पहिलो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० देखि ५ बजेसम्मको समय तोकिएको जानकारी दिए । उनले पूर्वनिर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने दृढतासमेत व्यक्त गरे ।
देशभरका कुल ७ सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते प्रदेश ३, ४ र ६ नं. का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । बाँकी ४ प्रदेशका स्थानीय तहमा दोस्रो चरणमा जेठ ३१ गते चुनाव हुनेछन् । दोस्रो चरणका लागि जेठ १९ गतेबाट चुनावी कार्यक्रम तोकिएको छ ।






