संघीय प्रणालीमा सरकारका तहहरुबीच दोहोरो कर लाग्दैन : प्रधानमन्त्री

काठमाडौं, चैत २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने बताएका छन् ।

सोमबार बिहान काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा सून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताए ।

उनले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रकृयागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने विश्वाससमेत दिलाए ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बनेपछि उद्योग व्यवसायको प्रवर्द्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको चर्चा गरे । उनले देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनर्स्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडि बढाइएको जानकारी दिए ।