काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष कमल थापालाई दोस्रो वरियतामा राखेपछि असन्तुष्ट गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिने विषयमा दोधारमा परेका छन् ।
राजीनामा दिनुपर्ने र दिन नहुनेको दबाबमा निधि दबाबमा परेका हुन् । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री तथा संघीय मामिला र स्थानीय विकासमन्त्री थापालाई दोस्रो वरिष्ठतामा राखेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री दाहालले थापालाई दोस्रो वरियतामा राखेको जानकारी पाएलगत्तै गृहमन्त्री निधिले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई गृहमन्त्रालयमा बोलाएर राजीनामा दिने मनस्थिति बनाएको जानकारी गराएका थिए । निधि र थापाबीचको वरियताको विवादका कारण तीन सातायता मन्त्रिपरिषद् बैठक बस्ने सकेको छैन । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भनिएपनि वरियता विवादका कारण अन्तिम समयमा स्थगित गर्दै आइतबार बस्ने जनाइएको छ ।
शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री निधि युएई जाने तयारी भइरहेको थियो । कतारका प्रधानमन्त्रीको निम्तो स्वीकार गर्दै निधि त्यसतर्फ जाने तयारी भएपनि अन्तिममा रद्द भएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।






