प्रबासी नेपाली मंच यु के ले संविधानसभा मा भएको तोडफोड को बारेमा छानविन गर्न लण्डनस्थित नेपाली दुताबासमार्फत ज्ञापनपत्र पेश

लण्डन,

नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मंचले तत्काल संविधान जारी गर्न र संविधानसभाको तोडफोडका बारेमा छानविन गर्न माग गरेको छ ।मंचले लण्डनस्थित नेपाली दुताबासमार्फत संविधानसभाका अध्यक्षलाई सम्बोधन गरी आज एक ज्ञापनपत्र पेश गर्दै संविधानसभामा एनेकपा (माओबादी) सम्वद्द मोर्चाले देखाएको व्यवहारले सारा नेपालीको शिर निहुराएको बताएको छ ।

ज्ञापन पत्रमा एमाओबादी सम्वद्द मोर्चाको व्यवहारले तोकिएको समयमा संविधान आउन नसकेको ठहर गर्दै संविधानसभामा सबैभन्दा धेरै दल र सभासदलाई समेटी संविधान निर्माण गर्नमा लाग्न मातृ पार्टी नेकपा एमालेलाई अनुरोध गरिएको छ ।

यसैगरी संविधानसभाको बैठकमा विपक्षीहरुले गरेको विरोध प्रदर्शनलाई असभ्य र जंगली भन्दै मंचले एमाओबादीलाई नेकपा एमालेको सहनशीलता र सहमतिका लागि गरेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि संविधानसभामा भएको आक्रमणको ज्ञापन पत्रमा घोर भत्सर्ना गरिएको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संविधानसभामा सुरक्षा व्यवस्था कडा पार्न पनि माग गरिएको छ ।

पहिचानका आधार भन्दै आपसी सद्भाव र सहिष्णुता बिथोल्ने अधिकार कसैलाई नभएको पनि ज्ञापन पत्रमा स्मरण गराइएको छ । यसैगरी जातियताका बारेमा चट्टानी अडान लिएको भन्दै आफ्नै मातृ पार्टीको प्रशंसा पनि ज्ञापन पत्रमा गरिएको छ ।

ज्ञापनपत्रमा प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिंखडा लगायत अन्य २० वटा विभिन्न मुलुकमा गठित मंचका अध्यक्षहरुको नाम छ ।

ज्ञापन पत्रको बोधार्थ प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा (माओबादी) र मधेसी मोर्चालाई दिइएको छ.