चितवन, २१ चैत । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ कविलासको घुमाउनेमा आज सुक्खा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा बा १० प ४८४४ नं को मोटरसाइकलका चालक लमजुङ सुन्दरबजार–३ भोटेओडारका अन्दाजी ४५ वर्षीय रेशमराज राना रहेका छन् ।
सोही मोटरसाइकलको पछाडि सवार रानाका १५ वर्षीय छोरा सन्दिप घाइते भएका छन् । सन्दिपको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, मुग्लिन हुँदै नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहचालक भारतको वेतिया घर भएका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भएको छ । पुरिएको ट्याङ्कर निकाल्दै गर्दा उनको शव फेला परेको हो ।
ट्याङ्कर चालक पर्सा लक्ष्यमनुवा–१८ का ३६ वर्षीय बनु पटेल घाइते हुनुभएको छ । उहाँको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचार गराई रहनुभएका पटेलले अकस्मात ठूल्ठूला ढुङ्गा झरेको र ट्याङ्करसँगै अन्य सवारी साधन पनि पहिरोमा पुरिएको बताउनुभयो ।
पहिरोस्थलबाट रा १ ख ७७९ नं को मिनी ट्रक, बा १६ च ३९०७ नं को कार र ना ६ ख ६६६४ नं को ट्रक बाहिर निकालिएको छ । यी सवारीसाधनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । विहान १०ः३० बजे अकस्मात पहिरो खसेको हो ।






