दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग

काठमाडौं, चैत १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदान–प्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ द पिपुलमा सोमबार भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए ।

उनकाअनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि ९ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले वि.सं. २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सन्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए ।

यस उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै उनले नेपाल र नेपाली जनता ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको बताएका थिए ।

नेपाल र चीनबीचको सम्बन्ध सदियौंदेखिको भौगोलिक तथा सांस्कृतिकरूपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

नेपाल लामो राजनीतिक संक्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चिनियाँ रेल ल्हासाबाट काठमाडौं हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताएका थिए ।

उनीहरूबीच करिब ३५ मिनेट भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा राष्ट्रपतिले सकारात्मक जवाफ दिएका थिए ।

चीनका राष्ट्रपति जिनफिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैंले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल–चीनको तातोपानी नाका सन्चालन तथा अन्य नाका सन्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सन्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिएका थिए ।

चीनका राष्ट्रपति जिनफिङसँगको छलफल सोचेभन्दा महत्वपूर्ण भएको प्रधानमन्त्री दाहालले जवाफ दिएको उनका प्रेस सल्लाहकार आचार्यले बताए ।

उनकाअनुसार नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैं नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, रेल्वे र नाका खोल्नेजस्ता विषयमा चासोका साथ प्रस्तुत् भएका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका उच्चस्तरीय प्रतिनिधिमन्डलको सहभागिता थियो ।