काठमाडौं— मंगलबार बिहान संविधान सभामा ४० वटा कुर्सी तोडफोड गर्ने मुख्य सभासद उमेशकुमार यादवले बिहीबार फेरि कुर्सी तोडफोड गरेका छन्। एओवादी सभासद यादवले संविधान सभालाई ब्यारेक बनाउन खोजेको भन्दै संविधान सभा बैठक कक्षका कुर्सी तोडफोड गरेका हुन्।
मध्यान्ह सुरु भएको संविधान सभाको बैठकका समयमा यादवले राप्रपाका सभासद सूर्यबहादुर थापा बस्ने र अर्को एउटा कुर्सी भाँचेको नेपाली कांग्रेसका सभासद रामहरि खतिवडाले जानकारी दिए। ‘बैठक सुरु हुनासाथ उमेश यादवजीले सूर्यबहादुर थापाजी बस्ने कुर्सीमा प्रहार गर्नुभयो। कुर्सी भाँचियो’, उनले नागरिकन्युजसँग कुराकानी गर्दै भने, ‘त्यसपछि थापाजी पछाडिको कुर्सीमा गएर बस्नुभयो।’
एमाओवादी सभासदले संविधान सभामा तोडफोड गर्ने कार्य नरोकेकोमा एमाओवादीले माफी माग्नु पर्ने अडान कांग्रेस-एमाले सभासदले गरेका छन्।






