काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटनको लगभग अन्तिमतिर पुगेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्तव्य अवधिभर राष्ट्रियताको व्याख्या गर्दै राप्रपाको खुलेर समर्थन गरे । अन्तिमतिर त उनले आफू कम्युनिष्ट भए पनि राप्रपा भनेपछि कताकता नजिक ठान्ने गरेको बताएपछि सामुन्ने रहेको राप्रपा कार्यकर्ताबाट ताली पाएका थिए ।
‘म एक कम्युनिष्ट । विद्रोही नेता, जनयुद्धको सर्वोच्च कमाण्डर । विचार त तपाईहरु (राप्रपा)सँग नमिल्ला’, दाहालले मञ्चमा रहेका राप्रपा अध्यक्ष कमल थापालगायत नेताहरुतिर हेर्दै भने–‘विचार र एजेण्डा नमिले पनि किन हो किन राप्रपा भनेपछि नजिक हुन मन लाग्छ । सहकार्य गरुँ गरुँ लाग्छ ।’ त्यतिमात्र होइन, धन्यवाद भनेर कुरा टुंग्याउनु अघि उनको राप्रपालाई एक वाक्यमा आग्रह थियो–‘टाढा नजानुहोला ।’
गणतन्त्र आगमनपछि सुरुका दिन पानी बाराबारको सम्बन्धले हेर्ने नेताले शुुक्रवार दिउसो भने गहिरो सान्निध्यता देखाएका थिए । त्यसको एउटै कारण थियो–सरकारले अघि बढाएको संविधान संशोधन प्रस्तावमा राप्रपाको भूमिका । दाहालले उक्त प्रस्तावमा राप्रपाको समर्थन खोजेका थिए । त्यहीं उनले संसोधनले निर्वाचनको बाटो खोल्ने भएकाले त्यसमा राप्रपाको समर्थन हुने विश्वास व्यक्त गरेका थिए ।
दाहाल भन्दाअघि बोलेका एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले पनि महाधिवेशनको मञ्च आफ्नो पक्षमा भरपूर उपयोग गर्दै राप्रपाका नेतालाई आफैतिर खिचेका थिए । संविधान जारी गर्ने बेलादेखि नै राप्रपाले सुझबुझपूर्ण निर्णय गरेको, राष्ट्रियताको पक्षमा अडान राख्दै आएको भन्दै प्रशंसा पनि गरे ।
हाल चौथो राजनीतिक शक्ति रहेको राप्रपा एकिकरणपछि अझ ठूलो हुन सकोस् भनी महाधिवेशन सफलताको शुभकामना दिएका थिए । आफू नेतृत्वको सरकारका बेला सहकार्य गरेको प्रसङ्ग झिक्दै अध्यक्ष ओलीले राप्रपाको राम्रो कामको दृष्टिले पनि उक्त कार्यकाल ‘स्वर्णकाल’ को रुपमा चित्रण गरेपछि कार्यकर्ताले तालीले स्वागत गरेका थिए । ‘यही रुपमा सही नीति, सिद्धान्त बोकेर अघि बढिरहे राप्रपाले आउदा चुनावमा एमालेबाहेक अरु पार्टीलाई धक्का दिन सक्छ’, ओलीले सँगै मञ्चमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भने आलोचनाको शब्द निकाल्दै भने, ‘राष्ट्रियताबारे कांग्रेस अलमलमा छ । एउटा गीतमा भने जस्तो जाउ, कता जाउ भनी अलमल गर्ने नि पार्टी हुन्छ । राप्रपा जस्तो अडान हुनुपर्छ ।’
कांग्रेस र माओवादीसहितको सरकारले दर्ता गरेको संविधान संशोधन देश, जनताको विरुद्ध रहेको दावी गर्दै उनले कुनै हालतमा पारित गर्न नदिने बताएका थिए ।
राप्रपालाई फकाउने काममा कांग्रेस सभापति शेरबहादुर देउवा समेत पछि परेनन् । तुलनात्मक रुपमा छोटो बोलेका देउवाले आफू पहिलोपल्ट प्रधानमन्त्री भएका बेला राप्रपा अध्यक्ष थापा र अर्का बरिष्ठ नेता पशुपतिशम्सेर राणा दुवै मन्त्री रहेको प्रसङ्ग झिके । ‘फेरी पनि एकै क्याविनेटमा काम गर्न पाऊँ’, देउवाले सत्ता समिकरणको प्रस्ताव समेत राखेपछि मञ्चको माहोल नै मोडिएको थियो ।
एमाले बाहेक अरु दललाई धक्का दिन राप्रपालाई दिएको शुभकामनाको जवाफ पनि देउवाले दिएका थिए । ‘जुहारी खेले जस्तो भयो । ओलीजीले बोलिहाल्नुभयो । मैले पनि बोल्नैपर्र्यौ’, उनले चुनावको प्रसङ्ग राख्दै भने–‘राप्रपाले सबभन्दा बढी भोट झापाबाटै पाएको छ । ओली जी होस गर्नुहोला है ।’






