संविधानसभा: आजको बैठक पनि अवरुद्ध

संविधानसभाको आजको बैठकमा पनि एमाओवादी र मधेसवादी दलले अवरोध गरेका छन् । आजको बैठकको प्रारम्भमै सभाध्यक्ष सुवास नेम्वाङले कारबाही सुरु हुन्छ भनेपछि विपक्षी सभासद् रोस्टम घेर्दै प्रक्रियाबाट संविधान निर्माणको कार्य अघि नबढाउन नाराबाजी गर्न पुगेका थिए । संविधानका विवादित अन्तरवस्तुमाथि संविधानसभा नियमावली, २०७० को नियम ९१ बमोजिम प्रश्नावली तयार गर्न नामावलीसहितको प्रस्ताव पेस गर्न नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठलाई समय दिनुपूर्व नै घेराबन्दी गरिएपछि बैठक अवरुद्ध भएको हो ।
गएराति पनि सो प्रस्ताव अघि बढाउन खोज्दा घेराउ र तोडफोड भएको थियो । आज हिजोजस्तो तोडफोडका घटना भने भएनन् । संविधासभा सचिवालयले मर्यादापालकको सङ्ख्या बढाएर थप सुरक्षा सतर्कता अपनाएको थियो । सभाध्यक्ष नेम्वाङले सभासद्लाई आफ्नो स्थानमा बस्न आग्रह गर्दा पनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले अध्यक्ष नेम्वाङको आशन अगाडि घेराउ गरी लगातार नाराबाजी गर्नुभएको थियो ।
संविधानका विवादित विषयमा दलहरूबीच सहमति नभएको र पूर्व निर्धारित माघ ८ भित्र संविधान ल्याउने समय दुई दिन बाँकी रहँदा संविधानसभामा त्यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ । बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।