नेपालका बैंकमा किन छैन पैसा ? १० लाखको चेक पनि साटिंदैन अचेल

काठमाडौं– नेपालका बैंकमा पैसाको अभाव झन् चुलिएको छ । १० लाख रुपैयाँको पनि चेक साट्न छाडिएको छ ।

सरकारी स्वामित्वका र केही बहुराष्ट्रिय वाणिज्य बैंकहरूबाहेक अरू बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार गर्ने क्षमता तत्कालका लागि लगभग गुमाइसकेका छन् । यो अवस्थालाई बैंकरहरूले ‘क्रेडिट क्रन्च’ भनेका छन् । दुई हप्ताअघिको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले १७ खर्ब ९७ अर्ब स्वदेशी निक्षेप स्वीकार गरेका छन् भने १५ खर्ब ९० अर्ब कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको ८८ दशमलव ५ प्रतिशत हुन्छ ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरूले निक्षेपको ८० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउँछन् । तथापि, यस्तो गणना गर्दा बैंकहरूले स्वदेशी निक्षेपमा पुँजी पनि जोड्न पाउँछन् । त्यसो गर्दा पनि बैंकहरूको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको नजिकै पुग्छ ।

ब्याजदरमा भारी वृद्धि
लगानी गर्ने पैसा अभाव भएपछि बैंकहरूबीच अहिले ब्याजदर बढाउन सक्रियता देखाएका छन् । वाणिज्य बैंकहरूले नै व्यक्तिगत निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिने योजना सार्वजनिक गरिरहेका छन् । संस्थागत निक्षेपकर्तालाई बैंकहरूले १४ प्रतिशतको हाराहारीसम्म ब्याज दिन थालेको बैंकरहरू बताउँछन् । यसरी वाणिज्य बैंकले कर्जाको ब्याज बढाउँदा विकास बैंक र वित्त कम्पनीमाथि पनि ब्याजदर बढाउन दबाब परेको बैंकरहरू बताउँछन् ।

के पर्छ असर ?
‘क्रेडिट क्रन्चले सबैभन्दा पहिला बैंकहरूको खराब कर्जा बढाउँछ,’ बैंकिङ ट्रेनिङ इन्स्टिच्युट (एनबिआई)का प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले भने । विगतमा सस्तो ब्याजमा ऋण लिएका व्यक्तिले ब्याजदर बढ्दै गएपछि किस्ता तिर्ने क्षमता गुमाउन थाल्छन् । ‘त्यसले खराब कर्जाको आकार बढ्छ र बैंकहरूको नाफामा नकारात्मक प्रभाव पर्छ,’ उनले भने ।

अर्कातिर बैंकहरूले नयाँ कर्जा जारी गर्न नपाएपछि बैंकको लगानीमा सुरु भएका विकास आयोजनाहरूको काम अवरुद्ध हुने, रोजगारी सिर्जनामा अवरोध आउने, थप आर्थिक गतिविधि विस्तार हुन नसक्ने र समष्टिगत अर्थतन्त्रको विस्तार नै रोकिन सक्ने सुब्बा बताउँछन् ।