काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले आफ्नो संगठनको झण्डा परिवर्तन गरेको छ ।
परिवर्तित झण्डामा रातो पृष्ठभूमिमा सेतो रंगका ५ वटा पाँचकुने तारा रहनेछ । त्यसैगरी पार्टीले निर्वाचन प्रयोजनका लागि आँखिभौं र परेला प्रष्ट देखिने ‘आँखा’ चुनाव चिन्ह रोज्ने निर्णयसमेत गरेको छ । बिहीबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टीको सदाचार आयोगको नियमावली परिमार्जनसहित पारित गरेको छ भने भाइराजा पाण्डेलाई संयोजकको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीका केही विभागहरुको संयोजक परिवर्तन गरेको छ, जस अनुसार योग साधना विभागका संयोजक डा. चेतनाथ अधिकारी, श्रम तथा वैदेशिक रोजगार विभागका संयोजक दानबहादुर तामाङ्ग र खेलकुद विभागको सह संयोजकमा देवी सुवेदीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले पार्टीका आंगिक संगठनहरुका राष्ट्रिय भेला तथा सम्मेलनहरु २०७३ चैत्र महिनासम्म स्थगित गरी पार्टी सदस्यता विस्तार गर्ने मुख्य उद्देश्य रहेको घरघरमा नयाँ शक्ति नामक अभियानलाई प्रभावकारी ढंगले सफल बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।






