बुटबल– आफू खुसी माइत बस्ने, सल्लाह र सम्पर्कमै नआएर श्रीमतीबाट पीडित भएको भन्दै श्रीमानले जिल्ला अदालत बागलुङमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।
बागलुङ नगरपालिका वडा नं ८ बस्ने जीत बहादुर थापाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरी पाउँ भनि मुद्दा दिएका हुन् । आफूलाई ४ वर्ष भन्दा बढि समयदेखि जानकारी नदिई आफुखुसी बसेको र बोलाउँदा समेत नआएको भन्दै सम्वन्ध विच्छेदको मुद्दा दर्ता गराएको उनले बताए ।
आफू विदेशमा बस्ने गरेको तथा नेपालमा जागिर हुँदा पनि श्रीमतीका कारणले छाड्नु परेको उनको भनाई छ । श्रीमतीले घर तथा ब्यवहार नहेरी आफुखुसी बस्दै आएकाले अन्यायमा परी सम्वन्ध विच्छेदको मुद्दा दर्ता गरेको मुद्दामा उल्लेख छ ।
नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषले पनि सिधै अदालतमा गएर श्रीमती उपर सम्वन्ध विच्छदेको मुद्दा दर्ता गर्न पाउने अधिकारको ब्यवस्था भएसँगै जिल्ला अदालत बागलुङमा पुरुषले सम्वन्ध विच्छेदको यो पहिलो मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
यसअघि सिधै अदालतमा आई मुद्दा दर्ता कानूनी ब्यवस्था थिएन । मुलुकी देवानी (संहिता) २०७४ को दफा ९४ क र ख का आधारमा जितबहादुरले यो मुद्दा दर्ता गरेका हुन् ।
अधिवक्ता राम शर्माले बागलुङमा श्रीमानले श्रीमतीलाई सिधै अदालतमा आइ सम्वन्धविच्छेदको मुद्दा दर्ता गरेको पहिलो घटना भएको र कानूनी ब्यवस्था अनुसार पुरुषले पनि सम्वन्ध विच्छेद गर्न अदालतमा जाने अधिकार भएकाले यो मुद्दा आफूले लेखेको बताए ।






