काठमाडौं –धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका नेताबीच संविधान संशोधन विधेयक पारित गरेपछि मात्रै चुनावमा जाने समझदारी भएको छ ।
शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुई पक्षको छलफलमा यस्तो समझदारी बनेको हो ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव अगाडि बढाएर मात्र सरकारले चुनावको मिति घोषणा गर्ने भन्दै मधेसी मोर्चाका नेतालाई आश्वस्त पारेका छन् । मोर्चा नेताहरूले संशोधन विधेयक संसद्मा टेबुल गरेर परिमार्जनसहित पारित गर्नुपर्ने र त्यसपछि मात्र चुनावको मिति घोषणा गर्नुपर्ने अडान राखेका थिए ।
मोर्चाका नेताले यसअघि शुक्रबार कांग्रेसका शीर्ष नेतासँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेपछि मात्र चुनाव घोषणा गर्नुपर्ने अडान स्पष्टसँग राखेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए ।
‘संविधान संशोधन विधेयक टेबुल गर्ने, त्यसलाई परिमार्जन गरेर पारित गराएपछि मात्र चुनावको घोषणा गर्नुपर्छ भन्ने कुरा मोर्चाका नेताहरूले प्रधानमन्त्रीसँग राख्नुभएको छ,’ नेता झाले भने, ‘कांग्रेस सभापति र प्रधानमन्त्रीसँगको छलफलमा हामीले त्यही अडानमा कुरा राखेका छौँ, उहाँहरूले सकारात्मक जवाफ दिनुभएको छ ।’
शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका मोर्चाका नेताले पौने १० बजेसम्म प्रधानमन्त्रीसँग छलफल गरेका थिए । ‘सरकार अबको संसद् बैठकमा संशोधन विधेयक टेबुल गर्नेगरी अगाडि बढ्छ, यसलाई निणयार्थ अगाडि बढाउन म प्रतिबद्ध छु, शंका नगर्नुहोला,’ प्रधानमन्त्रीले मोर्चा नेतासँगको छलफलमा व्यक्त गरेको भनाइ उद्धृत गदै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।
मोर्चाका नेताहरूले शुक्रबार सत्ता साक्षेदार कांग्रेससँग भएको छलफलका विषयमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘संशोधन टेबुल गरेर निणयार्थ प्रस्ताव अगाडि बढाउने र तीनवटै चुनाव गराउने गरी अगाडि ब्ढने विषयमा कांग्रेससँग उहाँ (मधेसी मोर्चा)का नेताहरूले छलफल गर्नुभएको रहेछ, त्यो विषय प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीजीले संशोधन टेबुल गर्ने र चुनावमा मोर्चासहित जाने कुरा गर्नुभयो ।’






