नयाँ दिल्ली– भारतीय रेलमन्त्री सुरेश प्रभुले भारतले काठमाडौंसम्म रेल पुर्याउने बताएका छन् ।
नयाँ दिल्लीस्थित् होटल ताजमा पत्रकारसँगको कुराकानीमा मन्त्री प्रभुले नेपालको रेल विकासको लागि सहयोग गर्न भारत तयार रहेको समेत बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डवीच द्धिपक्षीय आर्थिक साझेदारीको विषयमा गम्भिर छलफल भएको उल्लेख गर्दै मन्त्री प्रभुले थपे, ‘हाम्रो प्रधानमन्त्रीजीको स्पष्ट धारणा छ कि अब नेपाल र भारतवीच कनेक्टिभिटिलाई बढावा दिनुपर्छ, भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्छ, भारत नेपालको विकासको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।’
काठमाडौंदेखि लुम्बिनीसम्म रेल सेवा सञ्चालनबारे समेत दुवै पक्षवीच कुराकानी भएको उनको भनाई थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै द्धिपक्षीय सम्बन्ध नयाँ मोडमा पुगेको उनको विश्वास छ । उनले अघि थपे, ‘प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइृमा पुगेको छ, भारत नेपालको स्थायित्व, शान्ति र विकासको लागि सदैव सहयोग गर्न तयार छ ।’
त्यस्तै भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठीले भारतले नेपालको संविधानको स्वागत गरिसकेको बताएका छन् ।
त्रिपाठीले नेपालको संविधानलाई भारतले स्वागत गरिसकेको बताएका हुन् । उनले भने, ‘भारतले संविधानको स्वागत गरिसकेको छ, द्धिपक्षीय सबै असमझदारीहरु हटिसकेका छन्, अब सम्बन्ध सुमधुर भएर अघि बढ्छ, यसमा कुनै शंका छैन् ।’
संविधान संशोधन लगायतका विषयहरु नेपालको आन्तरिक मामिला भएको उनको टिप्पणी थियो ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिव राम माधवले भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानको समर्थन गरिसकेको स्पष्ट पारे ।






