‘एनआरएन’ मन्त्रालय गठन गर्न त्रिपाठीको माग

rkलन्डन–गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेका पूर्वमहासचिव आर.के. त्रिपाठीले एनआरएन मन्त्रालय गठन गर्न माग गरेका छन् ।

एनआरएन आईसीसी अध्यक्ष शेष घले, यूरोप संयोजक कुल आचार्य, एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङलाई संयुक्त पत्र लेख्दै त्रिपाठीले विदेशमा रहेका नेपालीहरुको सामूहिक पहिचान राख्न ‘एनआरएन’ मन्त्रालय गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

त्रिपाठीले एनआरएनले गरेका सामाजिक एवं लोककल्याणकारी कार्य तथा लगानीको वातावरणलाई व्यवस्थित गर्न मन्त्रालय गठन गर्नुपर्ने निष्कर्षमा पुगेको जनाएका छन् । उनले विदेशमा रहेका ३० लाख नेपालीलाई एकीकृत गर्दै उनीहरुको तलब, भत्ता, सेवा, सुविधा र बिमाकोसमेत मन्त्रालय अन्तर्गत ध्यान दिन सकिने जनाएका छन् । ‘हजारौं नेपालहरु वर्षौंदेखि विभिन्न जेलमा बसेका छन्, बिरामी भएर अस्पतालमा छटपटाई रहेका छन्,’ त्रिपाठीले लेखेको खुलापत्रमा भनिएको छ, ‘तर पैसाको कठीनाइले ज्यान जाने अवस्था छ, उनीहरुको उद्धार कसले गर्ने ? नेपाल सरकार कि एनआएनएले ?’

१५८३ जना नेपाली कतार जेलमामात्रै रहेको तथ्यांक केही दिनअघि सार्वजनिक भएको थियो । खाडीमा दैनिक १० जना नेपालीको मृत्यु भएको छ भने करिव ३०–४० जना दैनिक अपांग भइरहेका छन् ।

सरकारले परराष्ट्र मन्त्रालयमा एनआरए डेस्क स्थापना गरे पनि कुनै पनि नेपाली दूतावासमा अलग्गै डेस्क नरहेको त्रिपाठीको भनाइ छ । ‘न त दूतावासमा एनआरएन डेस्क छ,’ उनले भनेका छन्, ‘न दुःख पाएका नेपालीलाई १००–२०० पाउण्ड दिन सक्ने क्षमता नै छ ।’

त्रिपाठीले एनआरएनमा हाल ३ लाख नेपाली आबद्ध भए पनि प्रवासमा रहेका २७ लाख नेपाली समेटिन नसकेको बताए ।

कस्तो हुन्छ त मन्त्रालय ?
त्रिपाठीले एनआरएन मन्त्रालयको खाकासमेत सार्वजनिक गरेका छन् । उनका अनुसार मन्त्री नेपालकै सांसद रहनेछन् भने सचिव, सहसचिव, उपसमिति, अधिकृतहरु निजामती सेवाकै अधिकारी रहनेछन् ।

मन्त्रालयले विदेशमा एनआरएन विभाग गठन गर्नेछ ।

०४८ सालमा महिला मन्त्रालय गठन गर्दा सुरुमा जनताले खिल्ली गरे पनि आज उक्त मन्त्रालयले महिला शसक्तिकरणका लागि ठूला काम गरिरहेको बताउँदै त्रिपाठीले एनआरएन मन्त्रालय गठनको मागमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।