नक्कली शैक्षिक प्रमाणपत्रका एक हजार सातसय उजुरी अख्तियारमा

काठमाडौँ,३० पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी निकायमा जागिर खाने एक हजार सातसय कर्मचारीविरुद्ध आयोगमा उजुरी परेको छ । सबैभन्दा बढी शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरी आयोगमा परेको छ । शिक्षकपछि क्रमशस् प्रहरी, संस्थान र निजामति प्रशासनका कर्मचारीविरुद्घ उजुरी परेको छ । सबैभन्दा बढी शिक्षकमा र सबैभन्दा कम निजामति कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको उजुरी परेको आयोगका सहप्रवक्ता केशव घिमिरेले जानकारी दिए ।

akhtiyar-1

पछिल्लो समयमा नक्कली प्रमाणपत्रको उजुरीबारे आयोगले छानविन सुरु गरेयताको दुई महिनामा मात्रै एक हजार भन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । तीनसयभन्दा बढी वनरक्षकले राजीनामा दिएका छन् भने अन्य सरकारी निकायमा पनि राजीनामा दिनेको लर्को लागेको छ ।

आयोगले पहिलो चरणमा शिक्षकहरुका प्रमाणपत्रबारे छानविन सुरु गरेपछि शिक्षकले राजीनामा दिने क्रम बढेको हो । स्वदेश र विदेशी विद्यालय तथा विश्वविद्यालयबाट शिक्षा हाँसिल गरेका शंकास्पद सबै शिक्षकको प्रमाणपत्रबारे आयोगले छानविन गरिरहेको छ ।

यसै आर्थिक वर्षको सुरुका छ महिनामै नक्कली प्रमाणपत्र लिने पचासभन्दा बढी व्यक्तिविरुद्ध आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिसकेको छ । राजीनामा दिनेहरुले पारिवारिक कारण, स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिने गरेको देखिएको छ । राजीनामाको कारण नक्कली प्रमाणपत्र हो कि व्यक्तिगत हो यसै भन्न नसकिएपनि छानविन सुरु भएलगत्तै राजीनामा दिनुले आशङ्का उत्पन्न गराएको सहप्रवक्ता घिमिरे बताउँछन् ।

आयोगमा उजुरी परेपछि राजीनामा दिने कर्मचारीको हकमा भने राजीनामापछि पनि छानविन जारीनै रहने उनले जानकारी दिए । तर उजुरी नपरेकाहरुले राजीनामा दिएको विषयमा भने आयोगले छानविन गरेको छैन ।

उजुरी नपर्दै राजीनामा दिनेका विषयमा भने आवश्यकता अनुसारमात्रै छानविन गर्ने गरेको तर राजीनामा दिने सबैको छानविन नगरिएको उनले बताए । अहिले राजीनामा दिएका अधिकांशविरुद्ध उजुरी नपरेकाले उनीहरु कारबाहीबाट बच्ने अवस्था छ ।

आयोगका अनुसार डाक्टर, पाइलट, इञ्जिनियर, प्राध्यापक जस्ता उच्च ओहदाका निकायदेखि सुरक्षा निकाय र निजामती सेवाका उच्च निकायमा रहेका पदाधिकारीविरुद्धसमेत नक्कली प्रमाणपत्र लिएको उजुरी आयोगमा परेको छ । रासस