सहमति गरेर अगाडि बढ्ने दाहालको प्रतिबद्धता

biccकाठमाडौँ- व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभयो ।

त्यस क्रममा उहाँले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा ज्यान गुमाएकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै घाइतेप्रति आफ्नो उच्च सम्मान रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेकोमा आफू ज्यादै खुसी नभएको तर सहमति अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले राष्ट्रिय मुद्दामा सहमति गर्न सकिने र प्रधानमन्त्री निर्वाचित भएमा आफूले सहकार्य र सहमतिका निम्ति भरमग्दुर प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)बाट प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णयलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले एमालेसँगको सहकार्य जारी रहने, भूकम्पपछिको पुनःनिर्माण, शान्तिप्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन, सन्तुलित परराष्ट्र नीतिको सञ्चालन आफू नेतृत्वको सरकारको प्रमुख प्राथमिकता हुने स्पष्ट गर्नुभयो । निषेधको राजनीति नगरौ, सहमति र सहकार्यको राजनीति आफ्नो चाहना भएको पनि उहाँले बताउनुभयो ।

नेता दाहाल भन्नुभयो–“ध्र्रुवीकरण होइन आपसी विश्वास अहिलेको आवश्यकता हो, मतभेद हटाउनैपर्छ । मधेसका असन्तुष्टि अन्त्य गर्नैपर्छ । मधेस समस्या समाधान गर्न पुलको भूमिका निर्वाह गर्नेछु । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र मधेसी मोर्चाबीच तीन बुँदे सहमति भएको, भूकम्पपछिको पुनःनिर्माणलाई जोड दिने, राष्ट्रिय स्वाभिमानको रक्षालगायतका विषय अगाडि बढाउने वातावरण बनेको उहाँको कथन थियो ।”

अध्यक्ष दाहालले बजेटमा राखिएको दूतमार्ग, चीन र भारतसँग भएका सन्धि सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै विगतमा आफूहरु पनि सरकारमा सहयात्री भएकाले त्यसलाई पूर्णतामा लैजाने बताउनुभयो ।

हुलाकी मार्ग, द्रूतमार्ग जस्ता विकास निर्माणका आयोजना विगतका सरकारले अगाडि बढाएको उल्लेख गर्दै ती आयोजना आगामी सरकारले पनि अगाडि बढाउने उहाँको कथन थियो ।