मुस्ताङ, १५ साउन । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् ।
सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि हप्तादिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता अन्त्य हुने भएको हो । लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर इलाका प्रशासन कार्यालय सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
यसअघि लोमान्थाङमा सीमा कार्यालयमार्फत उपल्लो मुस्ताङवासीका दैनिक समस्या समाधान गर्ने प्रयास गरिए पनि त्यसलाई थप प्रभावकारी बनाउन इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।






