लन्डन, १२ साउन । लेखक नरेश काङमाङ राईको कृति ‘फियरलेस वारियर’ बेलायतको ‘जेम्स् ट्याईट ब्लाक बुक प्राईज बायोग्राफी २०१६’को लागि नोमिनेसन भएको छ । कविताबाट लेखनयात्रा सुरु गरेका काङमाङको ‘फियरलेस वारियर’ बेलायतकै प्रकाशनगृह ओलम्पियाले एक वर्षअघि प्रकाशन गरेको थियो ।
पुरस्कारको लागि नोमिनेसनमा परेको उनको सो कृति नेपालीमा पनि प्रकाशित छ । नेपालीमा ‘खुकुरीको धारमा दुई शताब्दी’को तेस्रो संस्करण बजारमा आउने तयारीमा छ । उनको यस कृतिमा प्रथम र दोस्रो विश्वयुद्धमा लडेका गोर्खाली लाहुरेका कथा समेटिएका छन् । यसैको अंग्रेजी संस्करण ‘फियरलेस वारियर’ हो ।
हाल बेलायतमै रहेका पूर्वब्रिटिस गोर्खाली सेना काङमाङले पुरस्कार जित्नेभन्दा पनि नोमिनेसनमै पर्नुलाई उपलब्धी ठानेका छन् । उनले भने, ‘पुरस्कार जित्छ वा जित्दैन भन्दा पनि तेस्रो मुलुकको लेखकको कृति नोमिनेशनमा पर्नु नै ठुलै हो ।’
काङमाङ अहिले तारा राईद्वारा लिखित ‘छापामार युवतीको डाईरी’को अंग्रेजी संस्करण ‘गुरिल्ला गर्ल’ बेलायतमै प्रकाशन गर्न खटिरहेका छन् ।
सन् १९१९ मा स्थापना भएको उक्त पुरस्कार बायोग्राफी, फिक्सन र ड्रामा गरी तीन विधालाई प्रदान गरिँदै आएको छ । सो पुरस्कारका लागि व्यावसायिक प्रकाशन गृहले छापेको अंग्रेजी भाषामा लिखित कृतिलाई मात्र मान्यता दिने गर्दछ ।
सन् १९१९ मा पहिलो बायोग्राफी पुरस्कार हेनरी फेस्टिङ जोनले पाएका थिए । उनले ‘स्यामुयल बटलर’ उपन्यासकारको बारेमा लेखेका थिए । स्यामुयल बटलर ‘अथर अफ रेहन’ उपन्यासका लेखक हुन् । बटलरका ‘युटोपिया’ र ‘रेहन’ अटोबायोग्राफी चर्चित कृतिहरु हुन् ।






