काठमाडौं, साउन १२ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ ।
ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो कार्यालयले आफ्नो विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि सो कार्यका लागि मार्ग प्रशस्त भएको हो । विनियमावलीको अभावमा ट्रष्टलाई आफ्नो नाममा आएका पूर्व राजपरिवारका सम्पत्ति जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न सकिएको थिएन ।
ट्रष्टका सचिव भीम उपाध्यायका अनुसार स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ । यसैगरी ट्रष्टले विभिन्न स्थानमा रहेका सातवटा दरबारलाई सर्वसाधारण तथा पर्यटकलाई अवलोकन गर्न खुला गरेको छ ।
‘विनियमावली लागू भएपछि अव पूर्व राजपरिवारका ती जग्गा, जमिन तथा सम्पत्तिलाई भाडामा लगाई आयआर्जन गर्न ट्रष्टलाई मार्ग प्रशस्त भएको छ । जग्गा जमिन तथा सम्पत्तिलाई भाडामा लगाउन सुरु गर्छौं,’ उनले भने ।






