तम्घास (गुल्मी), ११ साउन । अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ ।
यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् ।
त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ ।
बजार क्षेत्रका मानिस त्रासका कारण घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । बाढीले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ । विगत ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।
बाढीले हजारौँ रोपनी फाँट समेत डुबानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जनभन्दा बढी घरगोठमा समेत क्षति पुगेको बताइएको छ ।
तस्बिर साभारः गुल्मीन्यूज डट कम






