मेस्सीलाई उछिन्दै रोनाल्डोले जिते बर्ष खेलाडीको उपाधि

काठमाडौं २९ पुस, । लिओनल मेस्सीलाई पछि पार्दै क्रिष्टियानो रोनाल्डो लगातार दोस्रो वर्ष ‘वर्षको उत्कृष्ट फुटबलर’ घोषित भएका छन् ।

जुरिचमा सोमबार राति भएको कार्यक्रममा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो फिफा बालोन डि’ओरको विजेता घोषित भएका हुन् ।

उनले गत वर्ष पनि मेस्सीलाई नै पछि पार्दै यो उपाधि जितेका थिए । यसअघि सन् २००८ मा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा रहँदा पनि रोनाल्डो वर्ष फुटबलर घोषित भएका थिए ।

२००९ देखि लगातार चार वर्ष वर्ष खेलाडी बनेका बार्सिलोनाका मेस्सी यो पटक दोस्रो स्थानमा रहे भने जर्मन तथा बार्यन म्युनिखका गोलरक्षक नुयुर तेस्रो स्थानमा रहे ।

Rolnado

उत्कृष्ट खेलाडी छनोटका लागि भएको मतदानमा रोनाल्डोले ३७.६६ प्रतिशत मत पाए । मेस्सीले १५.७६ र नुयुरले १५.७२ प्रतिशत मत पाए ।

२९ वर्षीय रोनाल्डो गत वर्ष सन् २०१४ मा ४३ खेलमा ५२ गोल गरेका थिए । आर्सनलका लेजेन्ड थिएरी हेनरीबाट अवार्ड लिँदा रोनाल्डो निकै भावुक देखिए ।

उनले भनेका छन्-जसले मलाई भोट गर्नुभो, मेरो अध्यक्ष, प्रशिक्षक र रियल मड्रिडलाई म धन्यवाद दिन चाहन्छु । यो अविश्वमरणीय वर्ष रहृयो ।’

जर्मन मिडफिल्डर नदिन कासलेर महिला फुटबलर अफ दि इयर घोषित भइन् ।

कोलम्बियाका जेम्स रोड्रिग्वेजले पुस्कास अवार्ड जिते । उनले ब्राजिल विश्वकपमा उरुग्वेविरुद्ध गरेको भली गोलका लागि यो अवार्ड जितेका हुन् ।

जर्मन प्रशिक्षक लो वर्षको उत्कृष्ट प्रशिक्षक बने । उनको नेतृत्वमा जर्मनीले यो वर्ष विश्वकप फुटबलको उपाधि जितेको थियो ।