काठमाडौँ, ७ असार । नेकपा (एमाले)को आजको स्थायी कमिटीको बैठकले संविधानमा व्यवस्था भएबमोजिमका प्रदेश सङ्गठन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
एमालेले पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठकले प्रदान गरेको जिम्मेवारीबमोजिम प्रदेश सङ्गठन कमिटी गठन गर्ने निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले पार्टी केन्द्रीय प्रदेश कमिटीमा रहने सदस्यको आधार तय गरी आवश्यक कार्य अघि बढाउने निर्णय गरेको हो ।
एमालेले हालसम्म कायम अञ्चल समन्वय कमिटी÷राजधानी समन्वय कमिटी अब नरहने निर्णय गरेको छ ।
एमाले प्रचार विभागमा प्रमुख तथा सचिव योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिअनुसार प्रदेश कमिटीमा सम्बन्धित प्रदेशअन्तर्गत भूगोलमा जिम्मेवारी तोकिएका केन्द्रीय सदस्य, सम्बन्धित प्रदेशअन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष, निवर्तमान अञ्चल सचिव, निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य÷निर्वाचित महिला र दलित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहनेछन् ।






