काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको विकल्प तयार नभएकाले अहिले सरकार बदल्न नभई संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराउने लाक्पागेलु शेर्पालाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले नाकाबन्दी, छिमेकीको सम्बन्ध सुधार र तराई आन्दोलनको असामान्य स्थितिबाट मुलुकलाई सामान्यीकरण गराउन वर्तमान सरकार सफल भएकाले यसैलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले भने, “एमालेले मुलुकको उचाइलाई सगरमाथाको उचाइमा लान खोजिरहेको छ । यो सरकारले एकपछि अर्को गर्दै परिस्थितिलाई सामान्य गरिरहेको छ भने अर्को सरकार किन चाहियो । उनले चित्तबुझ्दो विकल्प नभएसम्म मुलुकलाई अस्थिर बनाउने गरी सरकार परिवर्तन गर्न हुँदैन भन्दै सरकार बदल्नेतिर नलागी संविधानको कार्यान्वयन र राष्ट्रिय सहमति दिशामा लाग्न आग्रह गरे ।
उनले नेकपा (माओवादी केन्द्र) सँगको भद्र सहमतिबारे पार्टीका अध्यक्ष र वरिष्ठ नेताका अभिव्यक्तिको शैली फरक भए पनि सार एउटै भएको उल्लेख गर्दै भने “माओवादीले राष्ट्रिय सहमतिको नेतृत्वका लागि काँग्रेसलाई तयार गराएर ल्याएमा एमाले बाधक बन्दैन तर सहमतिको अवस्था नभएसम्म यो गठबन्धन टुटाउनु वामपन्थी आन्दोलनको हितमा छैन ।”
नेता भट्टराईले नेपाली काँग्रेसले सहकार्यको बाटो टुटाएको बताउँदै उसले संविधानको कार्यान्वनमा सहकार्य गर्नुुपर्नेमा जोड दिए ।






