‘अब सौर्य ऊर्जाबाट सिँचाइ’

umesh yadavकाठमाडौं- सिँचाइ मन्त्री उमेशकुमार यादवले यही चालु आर्थिक वर्षबाट नै सौर्य ऊर्जाबाट सिँचाइको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सिँचाइ विभागमा आयोजित कार्यक्रममा उहाँले सौर्य ऊर्जाबाट किसानका लागि सिँचाइ पुर्‍याउन निर्देशन दिनुभयो । नेपालमा सौर्य ऊर्जाबाट सिँचाइको सम्भावनाबारे विभागमा आयोजित कार्यक्रममा मन्त्री यादवले सौर्यबाट सिँचाइ गर्ने कार्य गरेर देखाउन निर्देशन दिनुभयो । “यो कार्यक्रमका लागि अर्को आव नकुर्नुस्, भोलिदेखि नै काम सञ्चालन गर्नुस्,” उहाँले भन्नुभयो ।

मुलुकमा हाल करिब सात लाख हेक्टरमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध छ । स्यालो र डिप ट्युबवेल जडान गर्नेलगायतको यो कार्यक्रमको कार्यान्वयन भएपछि सिँचाइ सुविधा पुग्ने जमिन करिब १० लाख हेक्टर पुग्ने मन्त्री यादवको भनाइ छ । सोलार प्यानल खेतमा लगाएपछि चोरी हुने सम्भावना बढिरहेको उक्त अवसरमा कर्मचारीहरुले कुरा उठाएका थिए । “चोरी हुन्छ भन्दैमा कार्यक्रम रोक्नु हुँदैन,” उहाँले भन्नुभयो ।