काठमाडौँ, ४ जेठ । ‘अतिथि देवो भवः अभियानअन्तर्गत नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली सङ्घबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राजधानीमा मंगलबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेल, मन्त्रालयका सचिव प्रेमकुमार राईको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र सङ्घका उपाध्यक्ष भवन भट्टबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सझदारीपत्रमा सफा, सुन्दर र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि चिनाउनका लागि सुरुमा बोर्ड र सङ्घले रु २०÷२० लाख स्थिर पूँजीका रुपमा राखी एउटा अक्षयकोष खडा गर्ने उल्लेख छ ।
सङ्घको कार्यालय रहेको ७५ भन्दा बढी देशमा नेपाल विश्वमा घुम्नैपर्ने सुन्दर पर्यटकीय देश भएको र नेपाल सफाका साथै राम्रो अतिथि सत्कार भएको विश्वमा चिनाउने अभियानको उद्देश्य रहेको छ ।
सो अवसरमा मन्त्री पोखरेलले नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिक विविधता पर्यटनका लागि आकर्षणको केन्द्र रहेको र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै पर्यटन भएको बताउनुभयो ।






