क्रान्तिकारी माओवादीसँग एकता गर्ने एमाओवादीको निर्णय
काठमाडौँ- एकीकृत नेकपा(माओवादी)ले विगतमा आफूबाट अलग भएका विभिन्न माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको स्थायी समितिको बैठकले नेकपा क्रान्तिकारी (माओवादी)लगायत पार्टीसँग एकताको निर्णय गरेको हो ।
एकताका लागि दुबै पार्टीकाबीचमा चलिरहेका छलफलका आधारमा एमाओवादीले सो निर्णय गरेको हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा महासचिव रामबहादुर थापा नेतृत्वको समूह तत्काल एकताका लागि तयार देखिएको छ भने वैद्य समूहले निर्णयमा पुगिसकेको छैन ।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले सो पार्टीसँग एकताका लागि राजनीतिक, वैचारिक र साङ्गठनिक विषयमा निर्णय गर्न आगामी जेठ १ गते आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरिको जानकारी दिनुभयो । एमाओवादीबाट अलग भएका वैद्य, नेत्रविक्रम चन्द, मणि थापा, मात्रृका यादव नेतृत्वमा हाल अलग अलग पार्टी छन् ।







