न्यूनतम पारिश्रमिक साउन १ देखि : मन्त्री राई

sherdhan raiकाठमाडौँ- सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० आगामी साउन १ गतेदेखि कार्यान्वयन हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनद्वारा स्विजरल्यान्डको जेनेभामा आयोजित ‘वर्ल्ड समिट अन इन्फरमेसन सोसाइटी’ सम्मेलनमा भाग लिएर स्वदेश फर्किनुभएका मन्त्री राईले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पारिश्रमिकबारे मन्त्रिपरिषद्ले गरेका निणर्यप्रति मिडिया सञ्चालक (मिडिया उद्योगी) हरूले उठाएका टिका–टिप्पणीलाई सकारात्मकरूपमा लिएको र फेरि पनि सबै सञ्चार गृहहरूसँग छलफल गर्ने बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद् बैठकले गरेको निणर्यलाई सकारात्मकरूपमा लिनसमेत सम्पूर्ण सञ्चारगृहलाई आग्रह गर्दै भन्नुभयो, “सञ्चार गृहलाई उद्योगको मान्यता दिनेबारे पनि हामीले काम अगाडि बढाइसकेका छौँ ।”

यही वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको थियो । बैठकले न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० समेत निर्धारण गरेको थियो ।