काठमाडौं- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएको आधिकारिक पत्र अझै उपाध्यायको हातमा पुगेको छैन् ।
उपाध्यायलाई सरकार परिवर्तनको प्रयासमा भारतमा सक्रिय रहेको, नेपाल सरकारलाई सूचना नदिई आफ्नो कार्यक्षेत्र छोडेर विभिन्न ठाउँमा हिंडेको लगायतका आरोप लगाउँदै नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो ।
संविधान जारी पछि चिसिएको नेपाल–भारत सम्बन्ध सुध्रन खोज्दै गर्दा प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुले भारतका विरुद्ध उग्र प्रतिक्रिया दिदैं राजदूत फिर्ता बोलाउने निर्णय अपरिपक्व भएको भन्दै चौतर्फी आलोचना भए पछि सरकार उपाध्यायलाई पत्र दिन अफ्ठयारोमा परेको स्रोतले बतायो ।
उपाध्यायलाई फिर्ता बोलाउने पत्र दिनु भन्दा सरकार चुपचाप बसेर उनैलाई राजदूतमा निरन्तरता दिने भित्रि तयारीमा रहेको स्रोतको दावी छ ।
उता राजदूत उपाध्याय भने पत्र कुरेर नबस्ने निर्णयमा पुगेका छन् । स्रोतका अनुसार उपाध्यायले दुई दिन भित्र राजीनामा दिने तयारी गरेका छन् ।
नेपाली कांग्रेस र एमाओवादीले प्रधानमन्त्री केपी ओलीको सरकार ढाल्ने अभ्यास गरिरहदा प्रधानमन्त्री ओलीले भने भारत सरकार र भारतका लागि नेपाली राजदूतले सरकार ढाल्न खोजेको आरोप लगाएका थिए ।
प्रधानमन्त्रीको यस्तो आरोप सार्वजनिक भएको केही समयमै राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो ।






