संघीयतामा प्रमुख दलहरु सहमति नजिक

संविधानका विवादित विषय टुङ्गो लगाउन प्रमुख तीन दल सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) संविधानका प्रमुख विवादित विषय सङ्घीयतामा सहमति नजिक पुगेका हुन् ।
बैठकमा प्रदेशको नाम र सङ्ख्यामा तीन दल सहमति नजिक पुगे पनि सीमाङ्कनमा विवाद कायमै रहेकाले आज अपराह्न मधेसी मोर्चासहित चार दलको बैठकमा छलफल गरी यसको टुङ्गो लगाइने बताइएको छ ।
बैठकपछि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले विवादित विषयलाई साँघुरो बनाउँदै लग्न तीन दलबीच सकारात्मक कुराकानी भएको बताउनुभयो ।
प्रदेशको नाम र सङ्ख्याका विषयमा दलहरु सहमति नजिक पुगेको र साँझसम्म चरणबद्ध छलफल गरी अन्य विषयको पनि टुङ्गो लगाइने उहाँले उल्लेख गर्नुभयो । सभाध्यक्षले दिएको भोलि सोमबारसम्मको समयावधिमा सहमति गर्न दलहरु आज चरणबद्ध द्विपक्षीय र बहुपक्षीय छलफलमा जुटिरहेका छन् ।