काठमाडौं- कांग्रेसको प्रस्तावमा एमाओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न अपिल गरेपछि एकाएक बदलिएको राजनीतिक समीकरण पुनः पुरानै ठाउँमा आइपुगेको छ ।
२४ घण्टा नबित्दै एमाओवादी अध्यक्ष प्रचण्ड पुरानो निर्णयबाट पछि हटेपछि केपी शर्मा ओली नेतृत्वको सरकार जोगिएको छ । नयाँ सरकारबारे छलफल गर्न लाजिम्पाट पुगेको कांग्रेस नेताको टोली बिहीबार बिहान ‘प्रचण्डले धोका दिए’ भन्दै फिर्ता भएको छ ।
एमालेले वर्तमान सरकार नै कायम गर्ने वा एमाले-एमाओवादी आलोपालो गरेर भए पनि वामपन्थी गठबन्धन कायम राख्ने वा कम्तिमा बजेट र नीति तथा कार्यक्रम ल्याइन्जेल सरकार जोगाउने प्रस्ताव गरेको थियो । ओलीका यी प्रस्ताव लिएर आज बिहान उपाध्यक्ष वामदेव गौतम दाहाल निवास पुगेका थिए ।
एमालेले एमाओवादीका चासोका बिषय, बजेटपछि दाहालको नेतृत्वमा सरकार, सत्य निरुपण, बेपत्ता छानविन, पुननिर्माण र सरकार संचालनसम्बन्धी असन्तुष्टिलाई लिखित रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि उनी यही सरकारलाई निरन्तरता दिने निश्कर्षमा पुगेका हु्न् ।
एमाले सरकार ढाल्ने मुख्य निर्णयको एमाओवादीभित्र अन्तुष्टि थियो । तर पनि दाहाल प्रधानमन्त्री हुन बजेट अघि ओली सरकार गिराउने रणनीतिमा लागेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा दिल्लीबाट फर्केपछि भएको राजनीतिक घटनाक्रमको विकासले प्रधानमन्त्रीका लागि दाहाल तयार भएका थिए ।
अर्कोतर्फ भारतीय नीतिको विरोधमा रहँदै आएका दाहाल एकाएक कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने चर्चाले उनको बोली ब्यबहारमा फरक देखिएको थियो ।






