लण्डन । यहि मे महिनाको २० तारिखका दिन लण्डनस्थित बेलायती संसद भवनअगाडि एक विशेष कार्यक्रमकाबीच बुद्धजयन्ती मनाउने तयारी गरिएको छ ।
गौतम बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देशलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुरयाउने उद्धेश्यले कपिलवस्तु समाज यूकेको आयोजनामा यो कार्यक्रमको तयारी भइरहेको हो । सांझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म खुला रुपमा बुद्धजयन्ती मनाउने र भूकम्पमा दिवंगत भएकाहरुको स्मृतिमा दीप प्रज्वलन गर्ने समेत कार्यक्रम छ
नेपाल र नेपालीको गौरव भगवान बुद्धको जन्मजयन्ती मनाउन, विश्वव्यापी रुपमा बुद्धको शान्तिको सन्देश बुलन्द गर्न, नेपालको पर्यटनको प्रबद्र्धन गर्न तथा बुद्धको जन्मस्थान लुम्बिनी र नेपालबारे विश्वलाई जानकारी गराउन पनि कार्यक्रम प्रभावकारी हुने अपेक्षा आयोजकको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक विभिन्न संघसंस्थाहरुलाई आ आ आफना संस्थाका ब्यानर तथा सम्भव भए आ आफनो संस्थाको नाम उल्लेख गरेर बुद्धको तस्बिर र मुर्तिसहित उपस्थित हुन आव्हान गरिएको छ ।
बेलायती सांसद विरेन्द्र शर्मा समेतको सहभागिता रहने यो कार्यक्रममा ऐक्यबद्धता र सहभागिताका लागि आयोजक कपिलवस्तु समाज यूके तथा एनआरएन यूकेका कोषाध्यक्ष दीपक श्रेष्ठ , मिडिया संयोजक एभरेष्ट गौतम, गणेश खड्का कार्यक्रम संयोजक तथा गणेश दाहाल व्यवस्थापन संयोजक सहभागिताका लागि सबै नेपाली संघसंस्था तथा समुदायलाई आग्रह गरेका छन ।






