सहमति नभए दुई तिहाइबाटै संविधान जारी गर्न ३०१ सभासदको हस्ताक्षर

२७ पुस, काठमाडौं । समयसीमाभित्रै सहमति नभए दुई तिहाइ बहुमतबाटै भए पनि माघ ८ मा संविधान जारी गर्न दबाव दिने उद्देश्यले थालिएको अभियानमा ३ सय १ जना सभासदले हस्ताक्षर गरिसकेका छन् ।

आइतवार बिहानसम्म ३०१ सभासदको हस्ताक्षर पुगिसकेको र २९ गते ११ बजे संविधानसभाको बैठक बस्ने बेलासम्म दुई तिहाई भन्दा बढि सभासदको हस्ताक्षर संकलन हुने कांग्रेस सभासद रामहरि खतिवडाले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा संयुक्त, नेपाल परिवार दललगायतका साना दलका सभासदले हस्ताक्षर गरिरहेका छन् ।

दुई स्वतन्त्र सभासदसहित हालसम्म बहुमत सभासदको हस्ताक्षर भइसकेको र केही सभासद जिल्लातिर रहेका र केही भेट्न बाँकी भएकाले दुई तिहाइ पुर्‍याउने क्रममा रहेको एमाले सभासद शेरधन राईले बताए ।

कांग्रेस एमालेसहितका दल आवद्ध सभासदहरुको शुक्रवारको भेलाले हस्ताक्षर र दबाव अभियान सँगै लैजाने निर्णय गरेको थियो । यो अभियानमा राप्रपा नेपाल र नेपाल मजदूर किसान पार्टीका सभासद पनि सहभागी भएका छन् । तर, उनीहरुले हस्ताक्षर भने गरेका छैनन् ।

दुई तिहाइभन्दा बढी सभासदको हस्ताक्षर संकलन भएपछि संविधानसभा अध्यक्षलाई थप प्रक्रिया अघि बढाउन आधार बन्ने भएकाले दुई तिहाइको हस्ताक्षर २९ गते बुझाइने सभासद राईले बताए ।

सहमति नभएमा संविधान निर्माणको प्रक्रिया दुई तिहाइ बहुमतबाट भने पनि अघि बढाउनुपर्ने माग आफूहरुको रहेको खतिवडाले बताए ।