काठमाडौं- एमालेले केपी ओली नेतृत्वको सरकारलाई नीति तथा कार्यक्रम ल्याउन एमाओवादीले सहयोग गरे सो लगत्तै प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिने बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाओवादीसँगको छलफलमा एमालेले यस्तो बताएको हो ।
तर, बैठकमा बलियो सत्ता साझेदार दलले एकाएक सरकार परिवर्तनबारे लबिङ गरेको भन्दै एमाले नेताहरुले आश्चर्य प्रकट गरेका थिए ।
बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले संविधानको कार्यन्वयन तथा भुकम्पपछिको पुनर्निर्माण सबै दलहरु मिलेर गर्नुपर्ने बेलामा एमाओवादी सरकार बदल्ने खेलमा लागेको भन्दै आपत्ति जनाए । यद्यपी उनले सरकार परिवर्तन एमाओवादीले चाहेकै हो भने पहिला नीति तथा कार्यक्रम ल्याउन दिनु पर्ने र त्यसपछि उसैलाई एमालेले प्रधानमन्त्रीमा समर्थन गर्ने बताए ।
बैठकमा एमाओवादीले भने सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब पनि सहयोग गर्न नसकिने भन्दै आफूले राष्ट्रिय सरकारको निर्माणका लागि थालेको अभियानमा सहयोग गर्न एमालेलाई आग्रह गरेको थियो ।






